
आज नेपालभर विश्वकर्मा पूजा तथा वास्तु दिवस धार्मिक श्रद्धा र उत्साहका साथ मनाइँदैछ। प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विशेष विधिपूर्वक भगवान् विश्वकर्माको पूजा गर्ने परम्परा छ।
आजका दिन विभिन्न कलकारखाना, कारखाना र कार्यस्थलमा भगवान् विश्वकर्माको बालुवाको मूर्ति वा तस्वीर स्थापना गरी पूजा गरिन्छ। औजार र मेसिनरी सामग्री सजाइन्छ र मजदुरलाई सहभागी गराएर यो पर्व भव्य रूपमा मनाइन्छ। पूजापछि बालुवाको मूर्ति बागमती मुहानस्थल सुन्दरीजल वा अन्य पवित्रस्थलमा लगी विसर्जन गर्ने प्रचलन छ।
धार्मिक विश्वासअनुसार आज औजार, मेसिनरी वा सवारीसाधनमा पूजा गरेमा ती लामो समय टिक्ने, बिग्रन नदिने र राम्रो काम गर्ने गुण प्राप्त हुन्छ।
धर्मशास्त्रविद्हरूका अनुसार द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले सताएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ एकै रातमा निर्माण गरेर कृष्णलाई लुकाएका थिए। यही कारण विश्वकर्मालाई संसारकै सफल वास्तुविद् मानिन्छ र त्यसै समयदेखि पूजा गर्ने परम्परा सुरु भएको मानिन्छ।
भारतको गुजरात राज्यमा अहिले पनि समुद्रबीच रहेको भनिने ‘भेद द्वारका’ लाई पश्चिम दिशाको रक्षकका रूपमा पूजा गर्ने गरिन्छ। विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाता मानिँदै आएको छ।
यस सम्झनामा नेपाल र भारतका कारीगर, मजदुर, इञ्जिनियर तथा मेसिनरी प्रयोग गर्नेहरूले आज पूजा गरी भगवान् विश्वकर्माको विद्वताको सम्मान गर्ने परम्परा छ। आजकै दिन मोटर, बाइक, मेसिन, औजार र उद्योगधन्दामा पूजा गर्ने प्रचलन व्यापक छ।