
एसिया कप २०२५ को समूह ए अन्तर्गतको अन्तिम खेलमा भारतले ओमानलाई २१ रनले पराजित गर्दै समूह चरणमा अपराजित भएको छ।
अबुधाबीस्थित जइद क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। भारतको लागि सञ्जु सामसनले सर्वाधिक ५६ रन प्रहार गरे भने तिलक वर्मा (२९), अक्षर पटेल (२६) र हर्षित राना (१३* अविजित) ले योगदान दिए।
भारतले दिएको १८९ रनको लक्ष्य पछ्याउँदै ओमानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो। ओमानका अमिर कलिमले ६४ रन, हमाद मिर्जाले ५१ रन, कप्तान जतिन्दर सिंहले ३२ रन बनाए।
बलिङमा भारतका हार्दिक पाण्ड्या, अर्षदीप सिंह, हर्षित राना र कुलदिप यादवले समान १–१ विकेट लिए। ओमानका लागि शाह फैसल, अमिर कलिम र जितेन रमानाण्डीले समान २–२ विकेट हात पारे।
यससँगै समूह चरणका खेलहरू सकिएका छन्। समूह ए बाट भारत र पाकिस्तान, समूह बी बाट श्रीलङ्का र बङ्गलादेश शीर्ष ४ (Super Four) मा प्रवेश गरेका छन्। अब यी चार टोलीबीच राउन्ड रोबिन ढाँचामा खेल हुनेछ र शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन्।
सुपर फोर अन्तर्गतको पहिलो खेल आज (शनिबार) श्रीलंका र बङ्गलादेशबीच हुनेछ भने आइतबार भारत र पाकिस्तानबीच रोमाञ्चक भिडन्त हुनेछ।