
नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहणसँगै पारदर्शिता र जिम्मेवारीको नयाँ पहल गर्दै मन्त्रालय मातहतका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेका छन्।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेपछि मन्त्री गुप्ता सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालय पुगेका थिए। पदभार ग्रहण गर्दै उनले मन्त्रालयमा हुने सबै प्रकारका बैठक अब सार्वजनिकरूपमा लाइभ स्ट्रिमिङमार्फत प्रसारण गरिने निर्णयमा हस्ताक्षर गरे।
निर्णयपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुप्ताले आफू कुरामा होइन, काममा विश्वास गर्ने व्यक्ति भएको बताउँदै मन्त्रालयलाई योजनाबद्ध र पारदर्शी ढंगले अघि बढाउने प्रतिबद्धता जनाए।
उनले मन्त्रालयका कर्मचारीहरूसँग बसेर आगामी दिनका लागि विस्तृत कार्ययोजना तयार गर्ने र कार्यान्वयनमा जोड दिने बताएका छन्।
मन्त्री गुप्ताको यो निर्णयलाई पारदर्शी प्रशासन र सुशासनतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।