
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहणसँगै जेनजी आन्दोलनका घाइते र प्रभावितहरूका लागि निःशुल्क मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने निर्णय गरेकी छन्।
रविवार राष्ट्रपति समक्ष शपथ लिएपछि मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै उनले उक्त निर्णयलाई प्राथमिकतामा राखेकी हुन्। मन्त्री शर्माले विज्ञहरूको सुझावका आधारमा मनोसामाजिक परामर्श कसरी प्रभावकारी रूपमा उपलब्ध गराउने भन्नेबारे छलफल गरेर कार्य अघि बढाइने बताइन्।
साथै, उनले भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने प्रतिवद्धता व्यक्त गरिन्। मन्त्री शर्माले भनिन्, “सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई दुःख दिने, पहुँच हेरेर काम गर्ने, वा ढिलासुस्ती गर्ने कार्य पनि भ्रष्टाचारकै स्वरूप हुन्, त्यसमा शून्य सहनशीलता अपनाइनेछ।”
उनले स्वास्थ्य सेवा क्षेत्रमा हुने खरिद प्रक्रिया पूर्ण पारदर्शी बनाउने र ‘भ्रष्टाचार शून्य नीति’ लागू गर्ने निर्देशन समेत दिइन्।
यस्तै, मन्त्री शर्माले जेनजी आन्दोलनमा शहीद भएका परिवारका सदस्यहरूलाई निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउने योजना अघि सारेकी छन्। उनले यसबारे अर्थ मन्त्रालयसँग छलफल गरी आवश्यक निर्णय लिइने जानकारी दिइन्।
मन्त्री शर्माको यो निर्णयलाई स्वास्थ्य क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र सामाजिक न्यायतर्फको सकारात्मक कदमका रूपमा हेरिएको छ।