
दूध उत्पादनलाई प्रोत्साहन गर्न सुरु गरिएको अनुदान कार्यक्रम बागलुङमा प्रभावकारी बन्दै गएको छ। किसानले उत्पादन गरेको दूध मात्राका आधारमा सहकारीमार्फत प्रतिलिटर पाँच रुपैयाँ अनुदान पाउँदै आएका छन्।
आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका आठ दुग्ध सहकारीमार्फत ८ सय किसानले ३७ लाख ३२ हजार रुपैयाँ अनुदान प्राप्त गरेका छन्। यसले किसानलाई दुग्ध उत्पादन बढाउन थप प्रोत्साहन मिलेको भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले जनाएको छ।
कानुन अनुसार न्यूनतम दैनिक २०० लिटर दूधको कारोबार गर्ने सहकारीमार्फत मात्र किसानले अनुदान पाउने व्यवस्था छ। केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाका अनुसार, सोझै बजारमा दूध बेच्ने किसान भने यस अनुदानबाट वञ्चित हुनेछन्।
उनले भने, “यो कार्यक्रम निकै प्रभावकारी छ। किसानले जति धेरै दूध उत्पादन गर्छन्, त्यति नै बढी अनुदान पाउँछन्। चालु आवका लागि प्रतिलिटर पाँच रुपैयाँका दरले ३८ लाख रुपैयाँ बजेट व्यवस्थापन गरिएको छ।”
गत वर्ष ७ लाख ४६ हजार लिटरभन्दा बढी दूधमा अनुदान वितरण गरिएको थियो। यस वर्ष १० लाख लिटर दूधमा अनुदान वितरण गर्ने लक्ष्य राखिएको छ।
हाल बागलुङ बजारमा जिल्ला सहकारी सङ्घमा १५ सहकारी दर्ता भए पनि न्यूनतम कारोबारको मापदण्ड पूरा गर्ने आठवटा सहकारीमार्फत मात्रै किसानले अनुदान पाएका छन्।