Join our Channel

उच्च मनोबलका साथ अगाडि बढ्न उद्योगीलाई सरकारको आह्वान

उच्च मनोबलका साथ अगाडि बढ्न उद्योगीलाई सरकारको आह्वान

सरकारले उद्योगी व्यवसायीलाई निराश नहुन र उच्च मनोबलका साथ व्यवसाय अगाडि बढाउन आह्वान गरेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे र कृष्णबहादुर राउतले निजी क्षेत्रसँगको छलफलमा मुलुकलाई नयाँ ढंगले अगाडि बढाउन निजी क्षेत्रको योगदान अपरिहार्य रहेको बताए। उनीहरूले विद्यमान चुनौतीलाई पार गर्दै व्यवसायलाई सञ्चालन गर्न सरकार सहयोग गर्न तयार रहेको स्पष्ट पारे।

आउँदो चाडपर्वलाई ध्यानमा राख्दै सचिवद्वयले आवश्यक खाद्यान्न तथा सामग्री पर्याप्त मौज्जाद रहेको बताए। साथै उत्पादनकर्ता, आयातकर्ता, ढुवानीकर्ता तथा विक्रेतालाई अनावश्यक रुपमा वस्तु सञ्चित नगर्न चेतावनी दिइएको छ।

मन्त्रालयले आयात सहज बनाउन कोरला नाका खोलेको र त्यहाँबाट सामान भित्रिन थालेको जानकारी दियो। साथै तातोपानी नाका खुलाउन पहल भइरहेको र दक्षिणतर्फका नाकाहरू नियमित सञ्चालनमा आइसकेको जनाइएको छ।

छलफलमा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले हालको कठिन परिस्थितिले निजी क्षेत्रलाई निराश बनाएको भए पनि नयाँ उत्साहका साथ उठ्ने प्रयास भइरहेको बताए। उनले उत्पादनमूलक उद्योग, होटेल, रिटेल चेन तथा साना व्यवसायहरूमा भएको तोडफोड र आगजनीले चुनौती थपिए पनि निजी क्षेत्र आत्मविश्वाससहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

पाण्डेले मुलुकको अर्थतन्त्रलाई उकास्न सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए।

Leave a comment