Join our Channel

भ्रष्टाचार मुद्दामा बागमतीका निलम्बित मेयर भरतकुमार थापालाई ८ वर्ष कैद र १० करोडभन्दा बढी जरिवाना

भ्रष्टाचार मुद्दामा बागमतीका निलम्बित मेयर भरतकुमार थापालाई ८ वर्ष कैद र १० करोडभन्दा बढी जरिवाना

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले ८ वर्ष कैद सजाय सुनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा यसअघि नै दोषी ठहर भएका थापालाई बिहीबार सजाय निर्धारण गरिएको हो।

अदालतले थापालाई ८ वर्ष कैदसँगै रु. १० करोड ९ लाख ७८ हजार २ सय ९९ जरिवाना र त्यति नै रकम असुलउपर गर्ने आदेश दिएको छ।

सोही मुद्दामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल र योजना प्रमुख तथा इन्जिनियर सागर पौडेललाई समेत उस्तै सजाय सुनाइएको छ। तिनै जनालाई जनही ८ वर्ष कैद, रु. १० करोड ९ लाख ७८ हजार २ सय ९९ जरिवाना र समान रकम असुलउपर गर्ने आदेश भएको हो।

यो भ्रष्टाचार प्रकरण बागमती नगरपालिकामा भौतिक संरचना निर्माणको नाममा निर्माणजन्य पदार्थ बिक्रीबाट प्राप्त हुने राजस्व हिनामिनासँग सम्बन्धित छ। अख्तियारले २०७८ जेठ २९ मा ३० करोड २९ लाख ३४ हजार ८ सय ९७ बिगो कायम गर्दै ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

विशेष अदालतको इजलास (अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठ र विदुर कोइराला) ले गत २१ साउनमा मेयर थापा, पोखरेल र पौडेललाई दोषी ठहर गर्दै बाँकी तीन जनालाई सफाइ दिएको थियो।

थापाविरुद्ध सार्वजनिक पद दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अर्को मुद्दामा पनि विशेष अदालतले २१ साउनमै १ वर्ष कैदरु. ३ करोड ४५ लाख २२ हजार ३ सय ८७ जरिवाना फैसला गरिसकेको छ।

Leave a comment