
वैदेशिक रोजगारीबाट देशमा भित्रिने रेमिट्यान्समा यो आर्थिक वर्षमा ऐतिहासिक वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो दश महिनामा मात्रै नेपालमा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.९ प्रतिशतले बढी हो।
नेपाल राष्ट्र बैंकका अनुसार, आर्थिक वर्ष २०८२ को वैशाख महिनामा मात्रै रेमिट्यान्स आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मासिक रेमिट्यान्स हो। गत वर्षको वैशाखमा १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।
डलरमा हेर्दा, चालु वर्षको दश महिनामा रेमिट्यान्स आप्रवाह १०.५ प्रतिशतले बढेर ९ अर्ब ९६ करोड अमेरिकी डलर पुगेको छ। गत वर्ष सोही अवधिमा यो वृद्धिदर १४.८ प्रतिशत रहेको थियो।
यसै अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्यामा पनि उल्लेख्य वृद्धि देखिएको छ। नयाँ श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिनेको संख्या ४ लाख ५ हजार ६१० पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१४ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्ता संख्याहरू क्रमशः ३ लाख ७३ हजार ३०७ र २ लाख ३६ हजार ३९८ थिए।