
राष्ट्र बैंकको पछिल्लो मासिक प्रतिवेदनअनुसार, नेपालमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर (मुद्रास्फीति) २.७७ प्रतिशत पुगेको छ। यो वृद्धि अघिल्लो वर्षको सोही महिनाको ४.४० प्रतिशतभन्दा कम हो, जसले मुद्रास्फीतिमा केही स्थायित्व आएको संकेत गर्छ।
रिपोर्टअनुसार, वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि १.५२ प्रतिशत रहेको छ भने गैर-खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३.४५ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा यी समूहको मूल्यवृद्धि क्रमशः ६.४१ र ३.०९ प्रतिशत थियो।
खाद्य वस्तुमा घ्यू र तेल महँगो
खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेलको मूल्य ११.०८ प्रतिशतले बढेको छ, जुन सबैभन्दा उच्च वृद्धि हो। यस्तै फलफूलको मूल्य ६.१५ प्रतिशत, दाल तथा गेडागुडीको ५.१७ प्रतिशत र गैर-मदिराजन्य पेय पदार्थको मूल्य ४.७० प्रतिशतले वृद्धि भएको छ।
तर, केही वस्तुको मूल्य भने घटेको छ। तरकारीको मूल्य ८.११ प्रतिशतले, मरमसलाको २.२० प्रतिशतले, र माछा तथा मासुको मूल्य ०.४८ प्रतिशतले घटेको छ।
सेवा क्षेत्रमा पनि वृद्धि
गैर-खाद्य तथा सेवा समूहमा पनि केही क्षेत्रमा मूल्यवृद्धि देखिएको छ। विविध वस्तु तथा सेवामा ९.०४ प्रतिशत, शिक्षामा ५.८८ प्रतिशत, लुगा तथा जुत्तामा ५.२३ प्रतिशत, फर्निचर तथा घरायसी उपकरणमा ३.९९ प्रतिशत, र रेस्टुरेन्ट तथा आवास सेवामा ३.१६ प्रतिशतको वृद्धि देखिएको छ।