Join our Channel

झलनाथ खनाल पार्टी एकताको विपक्षमा, माधव नेपालसहित वामपन्थी नेतृत्वमाथि दक्षिणपन्थीको आरोप

झलनाथ खनाल पार्टी एकताको विपक्षमा, माधव नेपालसहित वामपन्थी नेतृत्वमाथि दक्षिणपन्थीको आरोप

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले माओवादी केन्द्रसँगको पार्टी एकताको विरोध गरेका छन्। खनालले पार्टी सचिवालय बैठकमा पठाएको लिखित धारणा मार्फत कुनै पनि पार्टीसँग एकीकरण गर्ने मौसम अहिले उपयुक्त नभएको बताएका छन्।

खनालले भनेका छन्, “कमरेडहरू, हाम्रो पार्टीका लागि अहिले कसैसँग पनि पार्टी एकीकरण गर्ने समय होइन। हामीले गलत बाटो हिँडेर भड्खालोमा पर्नुहुँदैन र अरुलाई पनि गलत दिशामा लग्नुहुँदैन।”

उनी सबैभन्दा पहिले नेकपा एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गर्नुको कारणबारे निर्मम समीक्षा गर्नुपर्नेमा जोड दिएका छन्। खनालले आफ्नो धारणा व्यक्त गर्दै भनेका छन्, “हाम्रो चार वर्षे विद्रोहको यात्राको समीक्षा गरौं। ठिक बेठिक काम छुट्याऔँ र नवौं राष्ट्रिय महाअधिवेशनदेखि उठाएका युवा आवाज र कार्यविधि ध्यानमा राखौँ।”

पार्टी नेतृत्वमाथि दक्षिणपन्थीको आरोप

खनालले आफ्नो पार्टी अध्यक्ष माधव कुमार नेपालसहित वामपन्थी दलहरूलाई दक्षिणपन्थीको पछि लागेको आरोप समेत लगाएका छन्। त्यसैले उनले प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य भएको बताएका छन्।

उनले भने, “वामपन्थी दलले आम जनता र राष्ट्रलाई सही मार्ग देखाउनुपर्छ। तर, दक्षिणपन्थीको पछि लागेर वामपन्थी नेतृत्वले मुलुकको सामाजिक–आर्थिक रूपान्तरण र राष्ट्रियतालाई सुदृढ गर्ने जिम्मेवारी छोडेर यथास्थितिवादी मार्गमा हिँडेपछि देश संकटमा पुगेको छ।”

खनालले पार्टी पुनर्गठन र रूपान्तरणमार्फत देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलमा उठाउन आह्वान गरेका छन्।

मोर्चा बनाएर निर्वाचन तयारीको अपिल

उनले जेन्जी समूहसहित सबै पार्टीमा पुनर्गठन र रूपान्तरणको माग समयको आवश्यकता भएको बताएका छन्। उनले भने, “यो फगत पुस्तावादको माग होइन, सबै पुस्ताको क्रान्तिकारी पुनर्गठन र रूपान्तरणको माग हो। यसलाई अस्वीकार गरेर कोही अघि बढ्न सक्दैन।”

खनालले युवा आन्दोलनको विस्फोटन केवल आवेग वा बाह्य शक्तिको षड्यन्त्र नभई मुख्य नेतृत्वको घनघोर असफलताको उपज भएको निष्कर्ष समेत राखेका छन्।

उनी पार्टीलाई सही वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तका आधारमा पुनर्गठन गर्न, सबै क्रान्तिकारी कम्युनिष्ट, वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिहरूलाई गोलबन्द गर्न आह्वान गर्दै एक बृहत राष्ट्रिय मोर्चा बनाएर प्रतिनिधि सभाको निर्वाचन तयारी गर्नुपर्नेमा जोड दिएका छन्।

खनालले थपे, “सत्तामा रहेर देशको नेतृत्व गर्दै आएका सबै पार्टीको मुख्य नेतृत्वले जिम्मेवारी लिनुपर्छ। राजनीतिक पार्टीहरूले मुलुकलाई सही दिशा दिनु नै अहिलेको आवश्यकता हो।”

Leave a comment