
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–५, राधेराधेमा शुक्रबारदेखि रोमाञ्चक ‘फिस टनेल’ र ‘सुनामी राइड’ एक्स्पो सुरु भएको छ। राजधानी आसपासका बासिन्दालाई समुद्री जीवनको अनुभव दिलाउने उद्देश्यसहित सुरु भएको यो एक्स्पो ३५ दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ।
उद्घाटन संघीय सांसद दुर्लभ थापाले गर्नुभएको उक्त एक्स्पोमा नेपालमै पहिलोपटक भित्र्याइएको ‘सुनामी राइड’ र १६० प्रजातिका माछाहरू समावेश गरिएको टनेल मुख्य आकर्षण बनेका छन्।
आयोजक संस्था औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतका अनुसार, फिस टनेलभित्र १६० भन्दा बढी समुद्री प्रजातिका माछालाई एउटै छानामुनि नजिकबाट हेर्न सकिने व्यवस्था गरिएको छ। यसले बच्चादेखि वृद्धसम्मलाई मनोरञ्जन र ज्ञानको संयोजन प्रदान गर्ने विश्वास गरिएको छ।
त्यस्तै, ‘सुनामी राइड’ नामक नयाँ खेलले समुद्री सुनामीको रोमाञ्चक अनुभव दिने आयोजकले दाबी गरेका छन्। यो खेल नेपालमा पहिलोपटक सार्वजनिक रूपमा परीक्षण गरिएको हो।
एक्स्पोमा रोटे पिङ, ड्रागन, कोलम्बस लगायतका थुप्रै मनोरञ्जनात्मक खेलहरूको समेत व्यवस्था गरिएको छ, जसले परिवारसहित घुम्न आउने आगन्तुकलाई थप रमाइलो गराउनेछ।
एक्स्पो हरेक दिन बिहान १० बजेदेखि साँझ ८ बजेसम्म खुला रहनेछ। प्रवेश शुल्क, सुरक्षाको व्यवस्था र पार्किङ प्रणाली समेत सहज बनाइएको आयोजकको भनाइ छ।