Join our Channel

बिपी राजमार्ग १५ दिनका लागि राति बन्द, बाढीपहिरोको जोखिमलाई लिएर निर्णय

बिपी राजमार्ग १५ दिनका लागि राति बन्द, बाढीपहिरोको जोखिमलाई लिएर निर्णय

बिपी राजमार्गमा आज शनिबार राति १२:३० बजेदेखि बिहान ५:०० बजेसम्मका लागि १५ दिनसम्म सवारी आवागमनमा पूर्णरूपमा रोक लगाइने भएको छ।

काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाका प्रमुख सुरक्षा निकायहरूमाझको अन्तरजिल्ला समन्वय समितिको बैठकले बाढीपहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार मनसुनका कारण बाढी र पहिरोको जोखिम बढेकाले सुरक्षाका दृष्टिले राजमार्ग रातिको समयमा बन्द गरिने निर्णय गरिएको हो।

उनले भने, “काठमाडौँबाट पूर्वतर्फ जाने सवारीसाधनलाई काभ्रेभञ्ज्याङमा र पूर्वबाट काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिनेछ।”

अस्थायी सडकमा हजारौं सवारी आवागमन

गत वर्ष असोजमा आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको करिब ८ किलोमिटर सडक पूर्णरूपमा बगाएको थियो। त्यसपछि सो क्षेत्रमा अस्थायी रुपमा कतै एकतर्फी र कतै दुईतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो।

पूर्वी नेपाललाई काठमाडौँसँग जोड्ने छोटो र महत्त्वपूर्ण बिपी राजमार्ग दैनिक हजारौं सवारीसाधनको मुख्य मार्ग हो।

भक्तपुर डिभिजन सडक कार्यालयका अनुसार, कुल १६० किलोमिटर लामो राजमार्गमध्ये सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किलोमिटर र नेपालथोकदेखि धुलिखेलसम्म ५० किलोमिटर गरी ८४ किलोमिटर सडक खण्डमा अत्यधिक क्षति पुगेको छ।

डिभिजन कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायीरूपमा पुनःनिर्माण गर्न चारवटा खण्डमा ठेक्का प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिएको छ।

Leave a comment