Join our Channel

लाङटाङ घुम्न गएका भक्तपुरका चार युवायुवती बाढीले बगाए

लाङटाङ घुम्न गएका भक्तपुरका चार युवायुवती बाढीले बगाए

लाङटाङ भ्रमणमा गएका भक्तपुरका चार जना युवायुवती बाढीले बगाएका छन्। शनिबार साँझ रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ वेरिङखोला पार गर्ने क्रममा बाढी आएको र उनीहरू बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार बेपत्ता हुनेहरूमा मध्यपुरठिमी नगरपालिकाकी संकृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० का रवि श्रेष्ठ रहेका छन्।

प्रजिअ पन्थीले बताएअनुसार उनीहरू १६ जनाको समूहमा लाङटाङ भ्रमणका लागि निस्केका थिए। समूहका ८ जना पहिले नै घोडातबेला पुगेका थिए भने पछिल्लो टोलीका ८ जनामध्ये ४ जनालाई बाढीले बगाएको हो।
शेष टोली अहिले स्थानीय होटेलमा सुरक्षित राखिएको छ।

नेपाली सेना र नेपाल प्रहरीको खोज तथा उद्धार टोली बेपत्ताहरूको खोजीमा खटिएको जिल्ला प्रशासनले जनाएको छ।

यसैबीच, हिमाली रसुवास्थित लाङटाङखोला र स्याफ्रुबेसी जलमापन केन्द्रमा पानीको सतह सतर्कता तह पार गरेको छ। अधिकारीहरूले नदी किनार तथा होचो भूभागमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

Leave a comment