
नेपालमा अहिले बंगालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायू सक्रिय रहेको छ। यसकै प्रभावले आज कोशी र मधेश प्रदेशका केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले बिहान जारी गरेको बुलेटिनअनुसार, दिउँसो कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा, जबकि बागमती र लुम्बिनी प्रदेशमा सामान्य बदली रहने अनुमान गरिएको छ। बाँकी प्रदेशहरूमा आंशिक बदली र केही ठाउँमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
आज राति पनि कोशी, मधेश, बागमती प्रदेश र देशका पहाडी भू–भागहरूमा सामान्यदेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। विशेषगरी कोशी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
यसैबीच, सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सरकारले आज र भोलि सार्वजनिक बिदा दिएको छ।