Join our Channel

भोजपुरका दुर्गम बस्तीमा बिजुली बल्दा खुशी छायो, अँध्यारो हट्यो उज्यालो फैलियो

भोजपुरका दुर्गम बस्तीमा बिजुली बल्दा खुशी छायो, अँध्यारो हट्यो उज्यालो फैलियो

भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाका दुर्गम बस्तीहरूमा अन्ततः केन्द्रीय विद्युत् सेवा पुगेको छ। लामो प्रतीक्षा र कठिन भौगोलिक अवस्थाबीच पनि नागीको लुंगिन बस्तीमा बिजुली विस्तार भएपछि स्थानीयवासीको दैनिकीमा ठूलो परिवर्तन आएको छ।

स्थानीय रामबहादुर राईका अनुसार, “स्थानीय सरकार आएपछि बल्ल गाउँमा बिजुली बल्यो, अब अँध्यारोमा बस्नुपर्ने बाध्यता अन्त्य भयो।” बिजुली विस्तारपछि बस्तीमा हर्ष र उत्साह छाएको छ।

पहिले कुपी र सोलार बत्तीमा निर्भर रहँदै आएका स्थानीयले अहिले टेलिभिजन हेर्न, इन्टरनेट प्रयोग गर्न र बालबालिकालाई उज्यालोमा पढाउन पाउने भएका छन्। स्थानीय बलिराज राई भन्छन्, “अब हामीले पनि उज्यालोमा जीवन बिताउन पाउने भयौं, हाम्रो गाउँ परिवर्तन हुँदैछ।”

गाउँपालिकाकी उप–प्रमुख रमादेवी राईका अनुसार, “भौगोलिक विकटता र बिजुलीका पोल तथा तार व्यवस्थापनमा कठिनाइका कारण विस्तारमा ढिलाइ भएको हो। तर लामो समयको प्रयासपछि बस्ती उज्यालो भएको छ।”

करिब १ सय ७३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको टेम्केमैयुङ गाउँपालिकाका नौ वटै वडामा अहिले विद्युत् सेवा पुगेको छ। यद्यपि केही दुर्गम स्थानहरूमा अझै तीनदेखि चार घण्टासम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता यथावत् छ।

विद्युत् विस्तारसँगै गाउँवासीको जीवनशैली मात्र होइन, सूचना तथा सञ्चारको पहुँचमा पनि उल्लेखनीय सुधार आएको छ।

Leave a comment