Join our Channel

टी–२० विश्वकप छनोटमा नेपालको अग्निपरीक्षा: यूएईसँग आइतबार भिड्दै

टी–२० विश्वकप छनोटमा नेपालको अग्निपरीक्षा: यूएईसँग आइतबार भिड्दै

आईसीसी टी–२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत नेपालले आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग सुपर सिक्स चरणमा रोमाञ्चक भिडन्त गर्ने भएको छ।

नेपालले समूह ‘बी’को विजेता र यूएईले समूह ‘ए’को विजेता बनेर अन्तिम ६ अर्थात् सुपर सिक्स चरणमा स्थान बनाएका हुन्। दुवै टोली अहिले २–२ अंकसहित प्रतिस्पर्धामा छन्, जसले नेपालका लागि यो खेल निकै महत्वपूर्ण बनाएको छ।

यो छनोट प्रतियोगितामा ९ टोली सहभागी छन्, जसलाई तीन समूहमा विभाजन गरिएको छ।

  • समूह ‘ए’मा: मलेसिया, कतार, यूएई
  • समूह ‘बी’मा: नेपाल, कुवेत, जापान
  • समूह ‘सी’मा: ओमान, पपुवा न्युगिनी, सामोआ

प्रत्येक समूहबाट दुई–दुई टोली सुपर सिक्समा पुगेका छन्। समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानलाई पाँच विकेटले हराउँदै समूह विजेताको रुपमा स्थान बनाएको थियो।

ओमान क्रिकेट एकेडेमीमा भएको खेलमा जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो।
नेपालका लागि आसिफ शेखले ३८, गुलशन झाले अविजित २८, कुशल भुर्तेलले २१, कप्तान रोहित पौडेलले १८ र दीपेन्द्र ऐरीले अविजित १४ रन जोडेका थिए।

बलिङतर्फ नेपालका गुलशन झा र सन्दीप लामिछानेले दुई–दुई विकेट, जबकि सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट लिएका थिए। जापानका कप्तान केन्डल काडोवाकी फ्लेमिङले ६० रनको अर्धशतक पूरा गरेका थिए।

सुपर सिक्स चरणबाट शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन्। हालसम्म १७ टोली विश्वकपका लागि छनोट भइसकेका छन् र यस क्षेत्रबाट बाँकी तीन टोली छनोट हुनेछन्।

नेपाल र यूएईबीचको आइतबारको खेल विश्वकपमा प्रवेशका लागि निर्णायक मानिएको छ।

Leave a comment