Join our Channel

भोटेकोशीमा भीषण बाढी: रसुवागढी नाका डुबान, मितेरी पुल बगायो

भोटेकोशीमा भीषण बाढी: रसुवागढी नाका डुबान, मितेरी पुल बगायो

भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढीले रसुवागढी नाकामा ठूलो क्षति पुर्‍याएको छ । नेपाल र चीन जोड्ने महत्वपूर्ण मितेरी पुल समेत बाढीले बगाएको छ भने सुख्खा बन्दरगाह (ड्राइपोर्ट) मा राखिएका नयाँ विद्युतीय गाडी (ईभी) हरू समेत बाढीले बगाएको पुष्टि भएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढी चीनतर्फबाट आएको हो र यसले ठूलो क्षति पुर्‍याएको छ । उनले भने, “मितेरी पुल बगाएको छ, ड्राइपोर्टमा रहेका नयाँ विद्युतीय गाडीहरू पनि बगाएको छ ।”

बाढीका कारण केही व्यक्ति फसेका थिए, जसको उद्धार सकिएको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार उद्धारका लागि गएको सुरक्षा टोली पनि बाढीमा फसेको थियो, तर सबैको सकुशल उद्धार भइसकेको छ ।

तल्लो क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्न भनिएको छ । उनले भने, “केही मानिस गाडीमै रहेको आशंका छ, यद्यपि पुष्टि भइसकेको छैन । गाडीमा भएका मानिसहरू बगाएको आशंका गरिएको छ ।”

हालसम्मको जानकारीअनुसार क्षतिको यथार्थ विवरण आउन बाँकी रहेको जनाइएको छ । थप उद्धारका लागि सेनाको हेलिकप्टर समेत बोलाइएको छ, तर मौसम खराबीका कारण हेलिकप्टर पुग्न ढिला भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

Leave a comment