Join our Channel

महिला टिम प्रशिक्षक डे वाइल्डको कडा चेतावनी : ‘एन्फा सुध्रिए मात्र फर्किन्छु’

महिला टिम प्रशिक्षक डे वाइल्डको कडा चेतावनी : ‘एन्फा सुध्रिए मात्र फर्किन्छु’

नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले अखिल नेपाल फुटबल संघ (एन्फा) प्रति गम्भीर असन्तोष पोखेका छन् ।

एएफसी वुमेन्स एसियन कप २०२५ छनोटमा उत्कृष्ट प्रदर्शन गरे पनि प्रशिक्षक डे वाइल्ड व्यवस्थापनप्रति चुपचाप रहेनन् । उनले खुलेर भनेका छन्— एन्फा सुधारिएन भने आफू नेपाल फर्किने सोच नै छैन ।

“म नेपाल पैसा कमाउन आएको होइन, खेलाडीका लागि आएको हुँ,” डे वाइल्डले भने, “तर एन्फाले खेलाडीको सुविधाभन्दा बढी राजनीति गर्छ । यस्तो अवस्थामा फर्किनुको अर्थ छैन ।”

उनी भन्छन्, “खेलाडीहरूमा सम्भावना निकै छ, तर एन्फाको व्यवस्थापन कमजोर छ । राम्रो होटलदेखि साधारण ‘आइस’सम्म नदिने व्यवस्थापनले महिला फुटबल अगाडि बढ्दैन । मलाई फुटबलको राजनीति होइन, खेलाडीको भविष्य महत्वपूर्ण छ ।”

डे वाइल्डले टिम व्यवस्थापन, खेलाडीका भावनात्मक पक्ष, संरचना अभाव, प्राविधिक योजना अभावलगायत विषयमा कडा टिप्पणी गरेका छन् । उनले स्पष्ट भने, “खेलाडीका लागि म सधैं तयार छु, तर एन्फा सुध्रिएन भने म फर्किन्नँ ।”

उनका अनुसार, नेपाली खेलाडीमा असाधारण क्षमता छ, तर तल्लो तहदेखि माथिल्लो तहसम्म दीर्घकालीन योजना नहुँदा समस्या छ । उनले प्राविधिक योजना, योग्य सहायक प्रशिक्षक, प्रविधि प्रयोग र संरचनागत सुधारको माग गरेका छन् ।

डे वाइल्डले बताए अनुसार उज्वेकिस्तानमा भएको प्रतियोगिता अवधिमा पनि खेलाडीहरूलाई न्यूनतम सुविधा थिएन । होटल, खाना, आइस, टिम व्यवस्थापन सबै कमजोर रहेको उनले बताए ।

उनको गुनासो छ—“खेलाडीहरू होस्टेलजस्तो होटलमा राखिएका थिए, म चाहिन्थे चार तारे होटल, उनीहरूले भने तीन तारे नै ठिक भनेर टारे । मसँग सहायक प्रशिक्षक नै थिएन, जसले प्रविधिमा काम गर्न सक्थ्यो ।”

डे वाइल्डले नेपालको महिला टिमको खेल भावना र सम्भावना निकै उत्कृष्ट रहेको बताए । “हाम्रो खेलाडीहरू जुझारु छन्, उनीहरूमा ठूलो सम्भावना छ,” उनले भने, “तर व्यवस्थापनले काम नगरे सुधार सम्भव छैन ।”

उनले भने, “म नेपाल फर्किएँ भने स्पष्ट सर्तमा फर्किन्छु— खेलाडीका लागि मात्रै, स्वतन्त्रतासहित, दीर्घकालीन योजना र व्यावसायिक वातावरणमा मात्रै म काम गर्छु । एन्फा बदलिएन भने म फिर्ता आउँदिन ।”

Leave a comment