
लामो समयदेखि बन्द रहेको ४५ मेगावाट क्षमताको भोटेकोशी जलविद्युत् आयोजना सञ्चालनमा फर्काउन स्थानीय र कम्पनीबीच महत्त्वपूर्ण सम्झौता भएको छ।
आइतबार भोटेकोशी जेन-जी पब्लिक इन्भेस्टमेन्ट लिमिटेड (पहिलो पक्ष) र भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेड (दोस्रो पक्ष) बीच सम्झौता भएको हो। प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासहित सरकारी तथा स्थानीय प्रतिनिधिको रोहवरमा हस्ताक्षर सम्पन्न भएको थियो।
सम्झौताको मुख्य बुँदा
- कम्पनीले १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीय जनताको प्रतिनिधित्व गर्ने पब्लिक कम्पनीलाई हस्तान्तरण गर्नेछ।
- शेयरको अंकित मूल्य प्रति शेयर १०० रुपैयाँ निर्धारण गरिएको छ।
- स्थानीय कम्पनीले शेयर खरिदका लागि बैंक कर्जा लिनेछ, जसको जमानी कम्पनीले दिनेछ।
- कर्जा तथा व्याज आगामी एक वर्षको लाभांशबाट चुक्ता गरिनेछ, अन्यथा बाँकी रकम कम्पनीले भुक्तानी गर्ने व्यवस्था छ।
- कम्पनीले भोटेकोशी गाउँपालिकालाई सामाजिक उत्तरदायित्वका लागि वार्षिक २ करोड ५० लाख रुपैयाँ दिने प्रतिबद्धता जनाएको छ।
- साबिकका अन्य शीर्षकका रकममा कुनै दाबी नगर्ने सहमति समेत गरिएको छ।
सम्झौतासँगै भोटेकोशी जलविद्युत् आयोजना पूर्ण सञ्चालनमा फर्किएको छ।


