
विवेकशील साझा पार्टीले जेनजीसहित वैकल्पिक राजनीतिक शक्ति र परिवर्तनकारी समूहबीच बृहत् एकताको आह्वान गरेको छ। पार्टीका प्रवक्ता आशुतोष प्रधानले जारी गरेको वक्तव्य अनुसार, समृद्ध नेपालका लागि नयाँ दल, जेनजी आन्दोलनका अभियन्ता, समूह र सार्वजनिक परिचय बनाएका व्यक्तिहरूसँग सहकार्य र कार्यगत एकता गर्ने ढोकाहरू खुला गरिएको छ।
वक्तव्यमा भनिएको छ, “सबै प्रकारका खुला छलफल, बहस र बृहत्तर नयाँ शक्ति निर्माण गरेर अघि बढ्न सरोकारवाला सम्पूर्णमा सार्वजनिक आह्वान गर्दछौं।”
विवेकशील साझाले जेनजी विद्रोहलाई ऐक्यबद्धता गर्दै, त्यसकै आधारमा बनेको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई स्वागत र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
पार्टीले आगामी २१ फागुनमा घोषणा गरिएको निर्वाचनमा पनि सहभागी हुने निर्णय गरेको छ। यस अभियान मार्फत पार्टीले वैकल्पिक राजनीतिक शक्ति र नयाँ नेतृत्वलाई थप मजबुत बनाउने उद्देश्य राखेको छ।