Join our Channel

वीरगन्जमा हैजाको संक्रमण बढ्दै, ७ जना संक्रमित, २ को मृत्यु

वीरगन्जमा हैजाको संक्रमण बढ्दै, ७ जना संक्रमित, २ को मृत्यु

वीरगन्जमा हैजा (कोलेरा) संक्रमण बढ्दै गएको छ । नारायणी अस्पतालमा उपचाररत झाडापखालाका १५ जनामध्ये शनिबार ८ जनाको परीक्षण गर्दा ५ जनामा हैजा पुष्टि भएको छ। यी सबै वीरगन्ज महानगरपालिका–१२, मुर्लीका रहेका छन् ।

त्यसैगरी, अर्को अस्पतालमा उपचाररत २ जनामा पनि हैजा पुष्टि भएको छ । तीमध्ये एक जना वडा–११ र अर्को वडा–१३ का रहेका छन् । यसअघि, तराई हस्पिटलमा उपचाररत ३० जनामध्ये ३ जनामा हैजा पुष्टि भएको थियो।

वीरगन्जका विभिन्न अस्पतालमा झाडापखालाका बिरामीको संख्या बढ्दै गएको छ। वीरगन्ज हेल्थ केयर हस्पिटलमा १३ शंकास्पद बिरामी उपचाररत छन् । तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको अस्पताल अध्यक्ष डा. अबुल हैस अन्सारीले बताए।

शुक्रबार मात्रै झाडापखालाका कारण वीरगन्जका दुई बिरामीको मृत्यु भएको छ । पर्साको पोखरिया नगरपालिका–९ की १९ वर्षीया युवती र नारायणी अस्पतालमा उपचाररत ३५ वर्षीय पुरुषको मृत्यु भएको छ। हालसम्म दुवैको मृत्यु हैजाका कारण भएको पुष्टि भइसकेको छैन।

महानगरपालिकाले प्रारम्भिक रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ। संक्रमित क्षेत्रका घरहरूबाट पिउने पानीको नमुना संकलन गरेर थप परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको छ।

जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार, पर्सामा पछिल्लो १० वर्षयता पहिलो पटक हैजाको प्रकोप देखिएको हो। हैजा दूषित खाना वा पानीमार्फत फैलिन्छ र यसका लक्षणमा निरन्तर झाडापखाला, वान्ता, पेट दुख्ने, आँखा गाडिने, शरीरमा पानी कमी, मांसपेसी दुख्ने र ज्वरो हुने जस्ता समस्या देखिन्छन्।

Leave a comment