Join our Channel

सौतेनी आमाको सम्पत्तिमा हक लग्ने

सौतेनी आमाको सम्पत्तिमा हक लग्ने

सर्वोच्च अदालतले माइती वा दाइजो स्वरूप पाएको सम्पत्ति वा जुनसुकै स्रोतबाट आर्जित सम्पत्तिमा सौतेनी छोराले पनि समान अंश पाउने फैसला गरेको छ ।

न्यायाधीश डा. नहकुल सुवेदी, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको पूर्ण इजलासले अंशबन्डा सम्बन्धी मुद्दामा सौतेनी आमाले आर्जित सम्पत्तिमा सौतेनी छोराको हक कायम हुने निर्णय गरेको हो । सर्वोच्चले ‘आमा’ शब्दमा सौतेनी आमा र ‘छोरा’ शब्दमा सौतेनी छोरासमेत समेटिएको व्याख्या गरेको छ ।

फैसला अनुसार, बाबुआमा वा पत्नीले जुनसुकै स्रोतबाट प्राप्त सम्पत्ति छोराछोरी र पत्नीका लागि पैतृक सम्पत्ति मानिन्छ र त्यसमा बन्डा लाग्नेछ । यसैगरी, डीएनए परीक्षण अनिवार्य नभएको स्पष्ट पार्दै अदालतले नाता पुष्टि गर्न अन्य प्रमाण पर्याप्त हुन सक्ने बताएको छ ।

सर्वोच्चले शशि पराजुली उप्रेतीविरुद्ध राहुल पराजुली र तुलसा बस्नेतको अंशबन्डा मुद्दामा फैसला सुनाएको हो । यसमा सर्वोच्चले नवराज पराजुलीकी जेठी पत्नी तुलसा, कान्छी पत्नी शशि, जेठी तुलसाबाट जन्मेका राहुल र कान्छी शशिबाट जन्मेका तीन छोराले ७ भागको २ भाग अंश पाउने ठहर गरेको छ ।

सर्वोच्चले बकसस्वरूप आमाबाट प्राप्त सम्पत्ति पनि पैतृक सम्पत्तिसरह हुने र बन्डा लाग्ने व्याख्या गरेको छ । फैसलाको पूर्ण पाठ बिहीबार सार्वजनिक भएको हो र सर्वोच्चले काठमाडौं जिल्ला अदालत र उच्च अदालतको फैसला सदर गरेको छ ।

Leave a comment