
वीरगन्जको दशैं मेलामा भएको गोल्डेन हत्या प्रकरणमा संलग्न रहेको आरोपमा **‘खुनी दरिन्दे ग्याङ’**का थप एक सदस्य पक्राउ परेका छन्।
पक्राउ पर्ने व्यक्ति पर्साको पकहाँ मैनपुर गाउँपालिका–१ धोरे स्थायी घर भई वीरगन्जमा बस्दै आएका अन्दाजी १६ वर्षका अंशु गिरी भएको प्रहरीले जनाएको छ।
घटना भएको दिनदेखि फरार रहेका गिरीलाई भारतमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको हो।
यसअघि उक्त हत्यामा संलग्न पाँच जना अभियुक्तलाई प्रहरीले घटना भएको भोलिपल्टै पक्राउ गरी असोज १६ गते पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो।
ती पाँच जना हुन् —
- वीरगन्ज महानगरपालिका–२४ रामगढवाका १९ वर्षीय गौतम पटेल,
- २० वर्षीय सुभांकर चौरसिया,
- २२ वर्षीय अमिरी पटेल (करण प्रसाद पटेल),
- २४ वर्षीय चन्दन चौरसिया, र
- १९ वर्षीय अमन पटवा।
घटना असोज १४ गते राति करिब ११:३० बजे वीरगन्ज–१० गीता मन्दिर रोडमा दशैं मेलाको समयमा दुई समूहबीचको कुटपिटका क्रममा भएको थियो।
त्यही क्रममा **बाराको परवानीपुर गाउँपालिका–९ का २० वर्षीय शिवम कुमार साह कानु (गोल्डेन)**को मृत्यु भएको थियो।
पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार, अनुसन्धानका क्रममा हत्यामा संलग्न समूहले ‘खुनी दरिन्दे समूह’ नामक ह्वाट्सएप ग्रुप बनाई गतिविधि सञ्चालन गरेको पाइएको हो। उनले थपे, “घटनामा संलग्न अन्य केही व्यक्तिहरूको पनि पहिचान भइसकेको छ, उनीहरूको खोजी भइरहेको छ।”