
तराई–मधेस क्षेत्रमा लगातार बढिरहेको अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ। यसै कारण वीरगन्ज महानगरपालिकाले आफ्नो क्षेत्रका सबै सामुदायिक तथा निजी विद्यालयहरूमा असार १ देखि ६ गतेसम्म पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेद्वारा जारी सूचनामा भनिएको छ, “केही दिनदेखि अत्यधिक गर्मी बढ्दै गएको र यसको प्रतिकूल असर विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने भएकाले असार १ देखि ६ गतेसम्म ६ दिन वर्षे बिदा मिलान हुने गरी विद्यालय बन्द रहनेछ।“
यसअघि जेठ २९ र ३० गते दुई दिनका लागि गर्मी बिदा दिइएको थियो। तर गर्मी झनै बढ्दै गएपछि थप बिदा दिनु परेको महानगरपालिकाले जनाएको छ।
पर्सा, बारा लगायत मध्य तराईका जिल्लामा पछिल्ला दिनहरूमा तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेको छ। अत्यधिक गर्मीका कारण विद्यालय जान कठिन भएको भन्दै अभिभावकहरूले पनि राहत महसुस गरेको प्रतिक्रिया दिएका छन्।