Join our Channel

असोज १ गतेदेखि बीपी राजमार्ग २४ घण्टा सञ्चालन हुने

असोज १ गतेदेखि बीपी राजमार्ग २४ घण्टा सञ्चालन हुने

मनसुनका कारण रातिको समयमा रोक लगाइँदै आएको बीपी राजमार्ग आगामी असोज १ गतेदेखि २४ घण्टा सञ्चालनमा ल्याइने भएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन सकिन लाग्नुका साथै दसैँ–तिहार यात्राको सहजताका लागि राजमार्गलाई चौबीसै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो।

यसअघि, गत असार ७ गतेदेखि मनसुनका कारण रातिको १२ घण्टा सवारी आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको थियो। पछिल्लो पटक भदौ १६ गतेदेखि थप १५ दिनका लागि राति सवारी सञ्चालन रोकिएको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्मका विभिन्न स्थान जोखिमपूर्ण देखिएकाले रोक लगाइएको थियो। काठमाडौँतर्फ जाने सवारीलाई काभ्रेभञ्ज्याङ र फर्कने सवारीलाई सिन्धुलीको नेपालथोकमा रोक्ने व्यवस्था गरिएको थियो।

गत वर्ष असोज महिनामा आएको बाढीपहिरोले राजमार्गको काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्म ८ किमी सडक बगाएको थियो। हाल भने १६० किमी लम्बाइको राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढाइरहेको कार्यालयले जनाएको छ।

पूर्वी नेपाललाई छोटो दूरीमा जोड्ने बीपी राजमार्गमा दैनिक हजारौँ सवारीसाधन सञ्चालन हुने गर्दछन्।

Leave a comment