
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड आज (असार ७) देखि रातको समयमा १० घण्टा पूर्ण रूपमा बन्द गरिने भएको छ।
सडक विभाग आयोजना निर्देशनालय (ADB) का अनुसार, दुम्कीबास क्षेत्रमा दुर्घटनाको जोखिम उच्च भएका कारण आजदेखि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको हो।
निर्देशनालयका निर्देशक इन्जिनियर चुडाराज ढकालले शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार यो प्रतिबन्ध लागू गरिएको जानकारी दिए।
उनका अनुसार, “विनयी खोलामा बनेको डाइभर्सन सडक वर्षाका कारण पटक–पटक बग्दा जोखिम बढेको र नयाँ पुल सञ्चालनमा नआउँदासम्म रातिको समयमा सवारी सञ्चालन रोक्ने निर्णय गरिएको हो।”
त्यसैगरी, दाउन्ने खण्डमा पनि मर्मतका काम भइरहेकाले यहाँ ग्राभेल राखेर सडक बनाउने कार्यका कारण यातायातमा असहजता देखिएकाले उक्त खण्डमा पनि रातिको समयमा सडक बन्द गरिएको ढकालले बताए।
ठूला र मालवाहक सवारीसाधनहरूलाई भने आजैदेखि चौबिसै घण्टा उक्त सडक प्रयोग गर्न नपाइने जानकारी दिइएको छ। वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दै ढकालले सानातिना सवारीसाधन पनि सडकको अवस्था हेरेर मात्र यात्रा गर्न सुझाएका छन्।
चार लेनमा विस्तार भइरहेको यो सडकमा सामान्य वर्षा हुँदा पनि हिलोका कारण सवारी सञ्चालनमा समस्या आउने गरेको छ। विशेषगरी विनयी खोलाको डाइभर्सन बग्दा बारम्बार यातायात अबरुद्ध हुने अवस्था आएको हो।