
चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि घाटा बजेट प्रस्ताव गरेपछि प्रमुख प्रतिपक्ष दल एमालेले कडा विरोध जनाउँदै बजेटको बहिष्कार गरेको छ। एमालेले प्रेस वक्तव्य जारी गर्दै उक्त बजेटले नगरलाई आर्थिक संकटतर्फ धकेल्ने स्पष्ट चेतावनी दिएको छ।
एमालेका अनुसार नगरपालिकाले आम्दानीभन्दा धेरै खर्च गर्ने योजना बनाएको छ, जुन वित्तीय अनुशासनविपरीत छ। हालको आर्थिक वर्षमा पुरा भएका योजनाहरूको करीब ४० करोड रुपैयाँ भुक्तानी बाँकी रहँदा नयाँ योजना थप गर्नु गैरजिम्मेवार र अनुत्तरदायी निर्णय भएको एमालेको आरोप छ।
प्रस्तावित बजेटमा आन्तरिक आय कमजोर हुँदाहुँदै पनि १ अर्ब ४८ करोड रुपैयाँ आम्दानीको अत्यधिक र अव्यावहारिक अनुमान गरिएको छ। यसै गरी करको भार दोब्बर पार्ने तयारी जनविरोधी भएको भन्दै एमालेले आपत्ति जनाएको छ।
पार्टीले भनेको छ, “बजेट निर्माणमा उपप्रमुखको नेतृत्वमा रहेको बजेट समितिलाई छलेर नगरप्रमुखले एकल निर्णयमा बजेट तयार गर्नु लोकतान्त्रिक प्रक्रिया र विधिको उल्लङ्घन हो।”
एमालेले जनताले तिरेको करको दुरुपयोग रोक्न, वित्तीय अनुशासन कायम गर्न र दिगो नगर विकास सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पार्दै नगरवासीहरूको साथ र समर्थनको अपेक्षा गरेको छ।