
अमेरिकी चिप निर्माता कम्पनी एनभिडिया विश्वकै पहिलो ४ ट्रिलियन डलर बजार पूँजीकरण गर्ने कम्पनी बनेको छ। बुधबार कम्पनीको सेयर मूल्य २ प्रतिशतले उकालो लागेपछि एनभिडियाले नयाँ कीर्तिमान बनाएको हो।
जेनरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (AI) प्रविधिको बृद्धिसँगै एनभिडियाले निर्माण गर्ने हार्डवेयर, विशेषतः GPU (ग्राफिक्स प्रोसेसिङ युनिट) का कारण लगानीकर्ता कम्पनीको सेयरमा आकर्षित भइरहेका छन्।
सार्वजनिक रूपमा कारोबार हुने कम्पनीहरूमध्ये एनभिडिया पहिलो कम्पनी हो, जसले ४ ट्रिलियन डलरको बजार पूँजीकरण पार गरेको छ। यसले माइक्रोसफ्ट, एप्पल, अमेजन, अल्फाबेट (गुगल), मेटा र साउदी आराम्कोलाई समेत पछि पारेको छ।
सन् १९९३ मा स्थापना भएको एनभिडियाले सन् २०२३ मा पहिलो पटक १ ट्रिलियन डलरको कम्पनी बनेको थियो। त्यसयता एआई प्रविधिमा आएको तीव्र विकाससँगै कम्पनीको बजार मूल्यले लगातार उचाइ बनाउँदै गएको हो।
एनभिडियाले निर्माण गर्ने चिपहरू अहिले ‘सुन’ र ‘तेल’ जस्तै महत्वपूर्ण मानिन्छन्। कम्पनीले लार्ज ल्यांग्वेज मोडल (LLM) मा प्रयोग हुने GPU चिपहरू उत्पादन गर्छ।
पछिल्लो ५ वर्षमा मात्र कम्पनीको सेयर मूल्य १५ गुणाले बढेको छ। पछिल्लो एक महिनामात्रै यसको सेयर मूल्य १५ प्रतिशतले बढेको छ भने सन् २०२५ को सुरुदेखि हालसम्म २२ प्रतिशतले उकालो लागेको छ।
चीनमा चिप निर्यात प्रतिबन्ध र अन्य भू-राजनीतिक तनावका बीच पनि एनभिडियाले बजारमा आफ्नो प्रभाव कायम राखेको छ।
कम्पनीका प्रमुख जेन्सेन हुआङले चीन बजारमा बिक्री घटे पनि विश्वव्यापी माग अत्यधिक रहेको बताएका छन्। उनी हाल प्रविधि क्षेत्रमा निकै चर्चित छन्, जसलाई मेटाका सीईओ मार्क जकरबर्गले ‘प्रविधिको टेलर स्विफ्ट’ भनेका छन्। ताइवानमा त उनलाई ‘रक स्टार’ झैँ सम्मान गरिन्छ।