Join our Channel

विधिवत् छठ पर्व सुरु : आज ‘नहाय खाय’ विधिद्वारा शुभारम्भ

विधिवत् छठ पर्व सुरु : आज ‘नहाय खाय’ विधिद्वारा शुभारम्भ

श्रद्धा, आस्था र नियम–निष्ठासहित मनाइने तराई–मधेशको महान् पर्व छठ आजदेखि विधिवत् रूपमा सुरु भएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म मनाइने यो पर्वको पहिलो दिन आज ‘नहाय–खाय’ विधिद्वारा शुभारम्भ गरिएको हो।

छठको पहिलो दिन नुहाएर चोखो भई खाने चलनलाई ‘नहाय–खाय’ भनिन्छ। यो दिनदेखि ब्रतमा बस्ने महिलाहरूले चोखो रहँदै माछा, मासु, लसुन, प्याजजस्ता प्रतिबन्धित वस्तुहरू नखाने परम्परा रहेको छ। जनकपुर उप–महानगरपालिका–१४ की ब्रतालु सुनिता सिंहका अनुसार, “आजदेखि नै शुद्धता र संयमको साथ व्रत प्रारम्भ हुन्छ।”

दोस्रो दिन ‘खरना’ विधि

छठको दोस्रो दिन ‘खरना’ विधि मनाइन्छ। यस दिन बेलुकी व्रतालुहरूले सख्खर (गुड)दुध मिसाएर बनाइएको खीर ग्रहण गर्छन्। यो विधि व्रतको तयारीको दोस्रो चरण मानिन्छ।

छठ पर्व विशेषगरी जनकपुरधाम, मिथिला क्षेत्र, र भारतीय राज्य बिहारमा भव्य रूपमा मनाइन्छ। यस पर्वले मानवमा अहिंसाको भावना, शुद्ध आचरण, र सर्वप्राणीप्रति सहानुभूति जागृत गर्ने विश्वास गरिन्छ।

सूर्यदेवको उपासना र सांस्कृतिक एकता

छठ पर्वमा सूर्यदेवछठ मइयाको उपासना गरिन्छ। व्रतालुहरूले आफ्नो संकल्पअनुसार केरा, उखु, भान्टा, दुध, माटोको हात्ती, ढकनीजस्ता सामग्री अर्पण गर्ने परम्परा रहेको पूर्व–प्राज्ञ रामभरोष कापडी भ्रमरले बताए।

मुख्य दिन षष्ठी तिथिका बेलुकी व्रतालुहरूले नुहाएर चोखो भई जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई ‘साँझको अर्घ’ अर्पण गर्छन्।
त्यसपछि सप्तमीका बिहान पुनः उदाउँदो सूर्यलाई ‘भोरको अर्घ’ दिई छठ पर्व सम्पन्न गरिन्छ।

जनकपुरधामका पोखरी, इनार, तलाउ, नदी आदिमा विशेषरूपमा सजावट, टेन्ट र फूलमालाले सुसज्जित घाटमा रातभरि जाग्राम बस्ने परम्परा छ।

छठ पर्वको महत्त्व

छठ पर्वलाई शुद्धता, संयम, र सूर्य उपासनाको प्रतीक मानिन्छ। यसले सामाजिक एकता र धार्मिक सहिष्णुताको सन्देश दिने गर्दछ।

Leave a comment