
चीनले शुक्रबार साँझ नयाँ सञ्चार उपग्रह ‘चाइनास्याट–९सी’ (ChinaSat-9C) सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। यो उपग्रह चीनको सिचुवान प्रान्तको शिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–तीन बी (Long March-3B) रकेटको माध्यमबाट साँझ ८:३७ बजे प्रक्षेपण गरिएको हो।
चाइनास्याट–९सी एक उन्नत सञ्चार उपग्रह हो, जुन टेलिभिजन प्रसारण, उच्च गतिको इन्टरनेट सेवा, आपतकालीन सञ्चार प्रणाली तथा सरकारी र सैन्य सूचना आदानप्रदानका लागि निर्माण गरिएको हो। यसले चीनको डिजिटल सञ्चार पूर्वाधारलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
चाइनास्याट–९सीले सफलतापूर्वक आफ्नो निर्धारित भू-स्थिर कक्षमा स्थान लिएपछि चीनको अन्तरिक्ष प्रविधिमा भइरहेको प्रगतिको अर्को उदाहरण बनेको छ। यो प्रक्षेपण “लङ मार्च” रकेट शृङ्खलाको ५८२औं उडान पनि हो।
यस सफल प्रक्षेपणले चीनलाई अन्तरिक्षमा आफ्नो हैसियत अझ सुदृढ गर्ने विश्वास वैज्ञानिक तथा संचार विज्ञहरूले व्यक्त गरेका छन्।