
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीभित्र बढ्दो निराशा हटाउन जरुरी रहेको बताएका छन्। आइतबार तनहुँको दमौलीमा नेपाल प्रजातन्त्र सेनानी संघले आयोजना गरेको स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै उनले कांग्रेस पार्टी आफ्नो विधानअनुसार नचलेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे।
कोइरालाले पार्टीभित्र भ्रातृ संस्था र महाधिवेशनसम्बन्धी कामहरू समयमै हुन नसकेको कारण कार्यकर्तामा निराशा छाएको उल्लेख गरे। उनले भने, “पार्टी विधानअनुसार चलेको छैन। भ्रातृ संस्थाहरूको अधिवेशन समयमा भएका छैनन्। महाधिवेशनसमेत तोकिएको मितिमा हुनेमा आशंका छ।”
उनका अनुसार कांग्रेस पार्टी विधानअनुसार अघि बढ्न सके मात्र नेताहरु र कार्यकर्ताहरूमा नयाँ उत्साह जाग्नेछ। कोइरालाले विसं २०८३ मंसिरभित्र पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि देशभरका कार्यकर्ताहरूले दबाब सिर्जना गर्नुपर्ने बताए।
यसै अवसरमा डा. कोइरालाले भ्रष्टाचार र कुशासनकै कारण मुलुक विकासबाट पछि परेको बताए। उनले भने, “जबसम्म सुशासन र पारदर्शिता कायम हुँदैन, तबसम्म देश समृद्ध हुन सक्दैन।” उनले दैलेखमा ग्यास फेला परेको खबरलाई सकारात्मक भन्दै त्यसको उचित व्यवस्थापन र उपयोग गर्न सरकारलाई आग्रह गरे।
कार्यक्रममा बोल्दै उनले हरेक राजनीतिक परिवर्तनमा प्रजातन्त्र सेनानीहरूको ठूलो योगदान रहेको उल्लेख गरे। “पार्टीले यो योगदान कहिल्यै भुल्नु हुँदैन,” कोइरालाले जोड दिए।