
क्लब वर्ल्डकप २०२५ मा इन्टर मिलान र बोरुसिया डर्टमुन्डले आइतबार आ–आफ्नो पहिलो जित हात पार्न सफल भएका छन्।
समूह ‘ई’ अन्तर्गतको खेलमा इन्टर मिलानले जापानी क्लब उरावा रेड डाइमन्ड्सलाई २–१ गोलले पराजित गर्दै प्रतियोगितामा विजयी खाता खोलेको हो।
खेलको सुरुआतमा जापानी क्लबले आक्रामक प्रदर्शन गर्दै रेममा वातानबेको गोलमार्फत अग्रता लिएको थियो। तर, इन्टरका कप्तान लउतारो मार्टिनेजले पहिलो हाफमै बराबरी गोल फर्काउँदै टोलीलाई खेलमा फर्काएका थिए।
निर्णायक गोल दोस्रो हाफको इन्ज्युरी समयमा इन्टरका भ्यालेन्टिन कारबोनीले गर्दै टोलीलाई पहिलो जित दिलाए। लगातार दोस्रो हारपछि उरावा रेड डाइमन्ड्स प्रतियोगिताबाट बाहिरिएको छ।
यसअघि, समूह ‘एफ’ अन्तर्गतको खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डले दक्षिण अफ्रिकी क्लब मामेलोडी सनडाउन्सलाई ४–३ ले हराउँदै पहिलो जित दर्ता गर्यो। रोमाञ्चक खेलमा डर्टमुन्डले उत्कृष्ट प्रदर्शन गर्दै दुई खेलबाट चार अंक जोडेको छ।