
सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँमा सोमबार दिउँसो एक ट्र्याक्टर दुर्घटनामा परि चालकको ज्यान गएको छ।
लौनियाँबाट दमावतीतर्फ जाँदै गरेको स १ त ६७०० नम्बरको ट्र्याक्टर अचानक अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए। दुर्घटनामा सोही स्थानका ३८ वर्षीय ट्र्याक्टर चालक देवेन्द्रप्रसाद साह गम्भीर घाइते भएका थिए।
घाइते साहलाई तत्काल उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको भए पनि चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए।
प्रहरीका अनुसार ट्र्याक्टरको अनियन्त्रित गति नै दुर्घटनाको प्रमुख कारण भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।