
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बुधबारका लागि डाकिएको छ। एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बुधबार अपराह्न १ बजे बैठक बस्ने कार्यक्रम तय गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन्।
उनका अनुसार, बैठकमा पार्टीको आगामी विधान महाधिवेशनको तयारीका विषयमा विस्तृत छलफल गरिनेछ। साथै, देशको वर्तमान राजनीतिक परिदृश्य, पार्टीको रणनीति, तथा समसामयिक विषयहरूमा समेत गहन छलफल गरिने बताइएको छ।
एमालेले भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ। उक्त महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुने जानकारी गराइएको छ। बैठकमा महाधिवेशनको कार्ययोजना, एजेन्डा तय गर्नुका साथै संगठनात्मक विषयहरूमा निर्णय लिने तयारी छ।