
एसीसी पुरुष यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो उत्कृष्ट प्रदर्शनलाई कायम राख्दै लगातार दोस्रो जित दर्ता गरेको छ। मंगलबार जापानविरुद्ध भएको खेलमा नेपालले ९ विकेटको सहज जित हात पारेको हो।
जापानले दिएको ८१ रनको लक्ष्य नेपालले मात्र १४.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि शिवांश बजगाईंले नटआउट रहँदै सर्वाधिक ३८ रन बनाएका थिए भने प्रसिद्ध जैसीले ३३ रनमा अविजित रहे। पहिलो खेलमा पनि जैसीले ५५ रनको नटआउट योगदान दिएका थिए।
ओपनर जोय थापा भने मात्र १ रनमा आउट भए। जापानका लागि काइसी कोबायाशीले एकमात्र विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गर्दै जापान ३४.३ ओभरमा ८० रनमै अलआउट भएको थियो। जापानका चार्ली हाराहिन्जेले ३६ रन बनाए भने ग्याबी हाराहिन्जेले १३ रनको योगदान दिए।
नेपालका बलर शुभम खनाल चम्किए, जसले १० ओभरमा मात्र १५ रन खर्चिएर ५ विकेट लिए। अभय यादवले २ विकेट लिँदा कप्तान विपिन शर्मा र शुसिल रावलले एक/एक विकेट लिए।
यसअघि आइतबारको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै प्रतियोगिताको सफल सुरुवात गरेको थियो। सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा मात्र ४ विकेट गुमाउँदै पुरा गर्यो।
त्यस खेलमा प्रसिद्ध जैसीले नटआउट ५५ रन बनाए भने रौनक श्रीवास्तवले ४० रन जोड्न सफल भए। शुभम खनाल ९ रनमा नटआउट रहे। सुर्यांशु कोइराला ९ रन बनाउँदै ‘रिटायर्ड हर्ट’ भएका थिए।
सिंगापुरका लागि आकाश तेजाले ३ र युवान पाण्डेले १ विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ३६.१ ओभरमा १३८ रन बनाएको थियो। कप्तान रियन नायकले सर्वाधिक ५३ रन बनाए।
प्रतियोगिता विवरण:
मलेसियाको यूकेएम ओभलमा भइरहेको प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, सिंगापुर, जापान, भुटान र इण्डोनेसिया छन्। समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन्।
एसीसीले आयोजना गरेको यो प्रतियोगिता एसियाली क्रिकेटको भविष्यका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।