Join our Channel

‘दुई बुँदे सहमति गर्नु गल्ती थिएन, बच्काना टिप्पणी नगर्नुहोस्’ — दाहालको चेतावनी

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई बुँदे सहमतिबारे भइरहेको आलोचनालाई ‘बच्काना’ भनेका छन्। मंगलबार चितवनको शिवनगरस्थित आफ्नो निजी निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले संसद् सञ्चालन गर्न दुई बुँदे सहमति गर्नु बाध्यता भएको स्पष्ट पारे।

दाहालले भिजिट भिसा र अध्यागमनको विषयलाई लिएर संसद् अबरुद्ध भएपछि महत्त्वपूर्ण ऐन निर्माणका लागि संसद् खोल्नु आवश्यक भएको बताए। उनले दुई बुँदे सहमतिमा छानबिन र कारबाही सुनिश्चित भएकाले त्यसमाथि प्रश्न उठाउनु गैरजिम्मेवार हुने उल्लेख गरे।

“संविधान र लोकतन्त्र जोगाउन संसद् खोल्नु जरुरी थियो,” दाहालले भने, “संघीय निजामति ऐन, शिक्षा ऐनजस्ता महत्त्वपूर्ण विधेयकहरु पारित गर्नुपर्छ।”

दाहालका अनुसार केही प्रतिक्रियावादी र भ्रम फैलाउने समूहहरुले माओवादीलाई बदनाम गर्न दुई बुँदे सहमतिलाई हतियार बनाएका छन्। पार्टीभित्र पनि कुरा नबुझेर गलत व्याख्या भइरहेको उनले बताए।

“एक महिनाभित्र छानबिन हुनेछ, यदि भएन भने जनताले पनि छाड्नेवाला छैनन्,” उनले चेतावनी दिए।

दाहालले गृहमन्त्रीको राजीनामा माग, छानबिन समिति गठन, र सुधारका लागि प्रतिबद्धता भएकै कारण सहमति गरिएको बताए। उनले भने, “यो समस्या कुनै व्यक्तिबाट सुरु भएको हैन, गहिरो अनुसन्धान आवश्यक छ।”

समाचार तथा सामाजिक सञ्जालमा आलोचना बढेपछि आफ्नै पार्टीभित्र पनि नेताहरु अन्योलमा परेकोप्रति उनले चिन्ता व्यक्त गरे।

“सबले गाली गरे, छेपारो भने। तर हामीले सहमति जनताको लागि गरेका हौं, गल्ती होइन।”

उनले आलोचनालाई स्वागत गर्दै ठोस सुधार र जिम्मेवारीपूर्ण नेतृत्वका साथ अगाडि बढ्ने प्रतिबद्धता दोहोर्याए।

Leave a comment