
गृहमन्त्री रमेश लेखकले नेपालमा बढ्दो लागूऔषध समस्यालाई नियन्त्रण गर्नको लागि नयाँ लागूऔषध नियन्त्रण विभाग स्थापना गरिने घोषणा गरेका छन्।
अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा ओसारपसार विरोधी दिवसको अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री लेखकले सरकारले लागूऔषध नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे।
उनी भन्छन्, “आगामी आर्थिक वर्षदेखि गृह मन्त्रालयअन्तर्गत छुट्टै लागूऔषध नियन्त्रण विभाग स्थापना गरिनेछ।“
गृहमन्त्रीका अनुसार सरकारले यस अभियानमा सचेतना, रोकथाम र कानुनी कारबाहीलाई समेटेर कार्यक्रम अघि बढाइरहेको छ।
उनले लागूऔषध दुर्व्यसनका कारण नेपालमा सडक दुर्घटना, आत्महत्या, साइबर अपराधजस्ता गम्भीर समस्याहरू देखिएको उल्लेख गरे। “यसको समाधानको मुख्य उपाय भनेको रोकथाम हो,” उनले भने, “समाज, विद्यालय, टोल र घरघरमै पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन आवश्यक छ।“
लेखकले मात्र सरकारको प्रयासले पुग्दैन भन्दै सम्पूर्ण समाज, अभिभावक र समुदायको सहकार्य आवश्यक भएको बताए।
उनले प्रस्तुत गरेको तथ्याङ्क अनुसार, “देशभर करिब १ लाख ३४ हजार व्यक्ति लागूऔषध सेवनमा संलग्न छन्,” र “देशका अधिकांश कारागारहरूमा लागूऔषध सम्बन्धी अपराधी दोस्रो ठूलो संख्यामा रहेका छन्।“
गृहमन्त्रीले लागूऔषध नियन्त्रणलाई राष्ट्रिय सरोकारको विषय बनाउँदै सम्पूर्ण निकायको समन्वयमा अगाडि बढ्न सबैलाई आह्वान गरे।