Join our Channel

दार्चुलामा पहिरो: महाकाली लोकमार्ग अवरुद्ध, यातायात ठप्प

दार्चुलामा पहिरो: महाकाली लोकमार्ग अवरुद्ध, यातायात ठप्प

दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका–३ तेर्छालेकमा शुक्रबार साँझ खसेको पहिरोका कारण महाकाली लोकमार्ग अवरुद्ध भएको छ। पहिरो पन्छाउन नसक्दा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।

शुक्रबार बेलुकीदेखि पहिरो हटाउने प्रयास गरिए पनि लगातार लेदो र माटो खस्ने क्रम नरोकिएकाले काममा अवरोध भएको प्रहरीले जनाएको छ। शनिबार बिहानबाट पुनः पहिरो पन्छाउने कार्य सुरु गरिएको छ।

खलंगाबाट गोकुलेश्वरतर्फ जाँदै गरेको सुप प्र ०१ ००१ ज ११८४ नम्बरको जीप समेत पहिरोमा फसेको छ र अहिलेसम्म निकाल्न नसकिएको जनाइएको छ। जीपको अगाडिको भाग माटोमा पुरिँदा क्षति पुगेको छ।

सडक बन्द भएपछि खलंगाबाट बाहिरिने र भित्रिने यातायात सेवा पूर्ण रूपमा रोकिएको छ। काठमाडौं, कैलाली र कञ्चनपुरबाट आएका बसहरू पनेबाजमा रोकिएका छन् भने सदरमुकामबाट बाहिरिने यातायात साधनहरू ऐरिछाना क्षेत्रमा रोकिएका छन्।

Leave a comment