Join our Channel

चाडपर्वको मौका छोपेर बढी भाडा असुल्दै यातायात व्यवसायी, फिर्ता गराउन प्रशासन सक्रिय

चाडपर्वको मौका छोपेर बढी भाडा असुल्दै यातायात व्यवसायी, फिर्ता गराउन प्रशासन सक्रिय

दशैंको चाडपर्वलाई मौका बनाएर यात्रुवाहक सार्वजनिक यातायातले बढी भाडा असुलेको पाइएको छ। यात्रुको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय धादिङ, जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीले पृथ्वीराजमार्ग क्षेत्रमा संयुक्त अनुगमन थालेका छन्।

अनुगमनका क्रममा बढी भाडा असुलेका गाडीहरूबाट यात्रुलाई रकम तत्कालै फिर्ता गराइएको छ।

पोखरा फर्किँदै गरेका कुशल गुरुङ र काठमाडौंबाट अन्य गन्तव्य जाने यात्रुहरूले भाडा फिर्ता पाउँदा खुशी व्यक्त गरेका छन्। अर्की यात्रु शर्मिला गिरीले पनि दशैंमा यात्रुको समस्या कम गर्न प्रशासनले गरेको कदमलाई स्वागत गरिन्।

तर, चालकहरूले भने “अघिपछि गाडी खाली चल्नुपर्ने भएकाले यात्रु पाएको बेला बढी भाडा लिएको” खुलेर स्वीकार गरेका छन्।

धादिङका प्रहरी प्रमुख भेषराज रिजालले यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै, बढी भाडा असुलेकालाई सम्झाइ–बुझाइ, जनचेतना र कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएका छन्।

त्यस्तै, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले तोकिएकै भाडामा यात्रुलाई सुरक्षित यात्रा गर्न पाउनुपर्ने बताउँदै अनुगमनलाई अझ कडा पारिने जनाए।

यात्रुका अनुसार, गोगंबु बसपार्क, नागढुंगा र अन्य स्थानमा पनि यस्तै समस्या भएकाले देशभरै अनुगमन बढाउनुपर्ने आवश्यकता देखिएको छ।

Leave a comment