Join our Channel

ओलीलाई देउवाको स्पष्ट सन्देश : ‘गठबन्धन पूरै अवधि जान्छ’

ओलीलाई देउवाको स्पष्ट सन्देश : ‘गठबन्धन पूरै अवधि जान्छ’

सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि सरकारको स्थायित्वबारे चर्चा तीव्र भइरहेका बेला प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्पष्ट सन्देश दिएका छन्— गठबन्धन पूरै अवधि टिक्नेछ ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक समापन गर्दै सभापति देउवाले गठबन्धनका विषयमा सञ्चारकर्मीसमक्ष प्रष्ट रूपमा बोलेका हुन् । उनले भने, “कांग्रेस र एमालेबीचको गठबन्धन पाँच वर्ष नै जान्छ, हामी समस्यालाई सँगै बसेर समाधान गर्छौं ।”

उनले संविधान संशोधनको एजेन्डामा पनि यो गठबन्धन अगाडि बढ्ने दाबी गरे । देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनै आशंका नगर्न सन्देश दिँदै गठबन्धन बलियो रहेको बताए ।

यता, कांग्रेसभित्र भने नेताहरूबीच आन्तरिक विवाद कायम छ । केही नेताहरूले देउवाको नेतृत्वमा सरकार बनाउन जोड दिइरहेका छन् । नेता शेखर कोइराला र केही सदस्यहरूले न्यायालय, अख्तियार र नियुक्ति प्रकरण जोडेर प्रधानमन्त्रीमाथि असन्तोष जनाइरहेका बेला देउवाले ओलीप्रति समर्थन दोहोर्‍याएका हुन् ।

बैठकमा अधिकांश नेताहरूले प्रधानमन्त्री र मन्त्रीहरूको कार्यशैलीमाथि आलोचना गरे पनि देउवाले त्यसमाथि टिप्पणी गरेनन् । उपसभापति पूर्णबहादुर खड्काले अर्को निर्वाचन देउवाकै नेतृत्वमा हुने संकेत गरे ।

महामन्त्री विश्वप्रकाश शर्माले भने देउवालाई छैटौं पटक प्रधानमन्त्री बन्ने आकांक्षा त्याग्न आग्रह गरे । उनले सभापति पदमा अब प्रतिस्पर्धा नहोस् भन्ने सन्देश दिएका थिए ।

तर देउवाले चितवनमा बोलेका भनाइ दोहोर्‍याउँदै भने, “संविधान र विधानअनुसार महाधिवेशन हुन्छ, मलाई चित्त बुझे सजिलो, नबुझे अप्ठ्यारो छु, न छोड्ने न लिने, म अप्ठ्यारो मान्छे हुँ ।”

कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणमा सुस्तता देखाएको भन्दै महाधिवेशनको ठोस कार्यतालिका तय हुन सकेको छैन । विधान अनुसार २०८२ मंसिरमा कार्यकाल सकिँदैछ । तर १ वर्ष थप गर्न मिल्ने प्रावधानअनुसार अधिकांश नेताहरूले २०८३ भित्र महाधिवेशन गर्न दबाब दिएका छन् ।

महामन्त्री गगन थापाले अब दुई महिनापछि बस्ने केन्द्रीय कार्यसमितिले महाधिवेशनको मिति तय गर्ने जानकारी दिए । उनले असोज मसान्तसम्म क्रियाशील सदस्यताको काम सक्ने र विदेशस्थित जनसम्पर्क समितिलाई साउनमै प्रक्रिया टुंग्याउन निर्देशन दिइएको बताए ।

“२०८२ मंसिरमा महाधिवेशन सम्भव छैन, २०८३ मंसिरभन्दा ढिला कानुनी रूपमा पनि मिल्दैन, चाँडै महाधिवेशन गर्दा आगामी चुनावमा फाइदा हुन्छ,” थापाले भने ।

Leave a comment