
२४ वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको धौलागिरि गाउँपालिका–३ निवासी दुर्गानारायण बुढा र पर्सबहादुर बुढा रहेका छन् ।
प्रहरीका अनुसार पर्सबहादुर बुढालाई जिल्ला अदालत म्याग्दीले २०५९ फागुन २५ गतेको फैसलाबाट कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाएको थियो । त्यस्तै, दुर्गानारायण बुढालाई सोही अदालतले २०६६ असोज २६ गते २० वर्ष कैद सजाय सुनाएको थियो ।
उनीहरू दुवैजना फैसला सुनाएपछि फरार रहेका थिए । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१ तारकेश्वर क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।
हाल पक्राउ परेका दुवै प्रतिवादीलाई आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय म्याग्दी पठाइएको प्रहरीले जनाएको छ ।