
अविरल वर्षाले पहिरो गएपछि धरान–धनकुटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
धरान–४ स्थित निशाने र शिखरबास क्षेत्रमा ठूलो पहिरो खस्दा सडक बन्द भएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबू राईले जानकारी दिए।
उनका अनुसार पहिरोले सडक पुरै ढाकिँदा धनकुटा हुँदै पहाडी जिल्ला जानका लागि छुटेका सवारीसाधन र धरान फर्किरहेका यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। यात्रुहरूलाई सुरक्षित स्थानमा राखिएको र वर्षा रोकिएलगत्तै बाटो खुलाउने प्रयास भइरहेको उनले बताए।
धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेका अनुसार पहिरो पन्छाउन जेसीभी परिचालन गरिएको छ। उनले भने, “माटो अत्यधिक चिप्लो भएकाले काममा कठिनाइ भइरहेको छ, तर सडक छिट्टै सञ्चालन गर्ने प्रयास भइरहेको छ।”
पछिल्ला केही दिनयता अविरल वर्षाका कारण धरान–धनकुटा सडकमा पटक–पटक पहिरो खस्ने क्रम बढेको छ। जसका कारण यातायात अवरुद्ध हुने र यात्रुहरू समस्यामा पर्ने घटना दोहोरिन थालेका छन्।