
प्रधानमन्त्री सुशीला कार्कीले देशभर भइरहेको अविरल वर्षा र त्यसले निम्त्याउन सक्ने बाढी, पहिरो तथा डुबानको उच्च जोखिमलाई ध्यानमा राख्दै सम्पूर्ण नागरिकलाई सतर्क र सुरक्षित रहन विशेष आग्रह गरेकी छन्।
जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिनसम्म वर्षा निरन्तर रहने र मुख्य नदी–नालाहरूमा पानीको सतह खतराको तह नाघ्न सक्ने चेतावनी जारी गरेपछि, प्रधानमन्त्रीले शनिबार देशबासीका नाममा सम्बोधन गर्दै यस्तो अपिल गरेकी हुन्।
प्रधानमन्त्री कार्कीले भनिन् — “सम्भावित विपदबाट हुने जोखिमको पूर्व–आकलन गर्दै सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रशासन, स्वास्थ्यकर्मी लगायतका सबै सरकारी निकायहरू विपद् व्यवस्थापन, उद्धार, राहत र आपत्कालीन सेवाका लागि चौबीसै घण्टा तयारी अवस्थामा छन्।”
उनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई ज्यान र सम्पत्तिको सुरक्षाका लागि सावधानी अपनाउन आग्रह गर्दै आधिकारिक स्रोतबाट जारी हुने सूचना र चेतावनीलाई ध्यानपूर्वक पालना गर्न अनुरोध गरिन्।
प्रधानमन्त्रीले थपिन् — “सरकार नियमित रूपमा अद्यावधिक सूचना प्रसारण गर्दै नागरिक सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्ध छ।”
संभावित विपद्को जोखिम मूल्याङ्कन गर्दै सरकारले असोज १९ र २० गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।