Join our Channel

धरानमा मेयर र उपमेयरबीच झडप, हातपातसम्मको स्थिति: बजेट निर्माण प्रभावित

धरानमा मेयर र उपमेयरबीच झडप, हातपातसम्मको स्थिति: बजेट निर्माण प्रभावित

आगामी आर्थिक वर्षको बजेट तयारीको क्रममा धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ् र उपमेयर आइन्द्र विक्रम बेघाबीचको विवादले मंगलबार दिनभर तनावग्रस्त स्थिति सिर्जना गर्‍यो।

विवादको सुरुवात सोमबारदेखि भएको थियो। धरान–१६ मा रहेको बहुभाषिक विद्यालयमा जाली निर्माणका लागि नौ लाख रुपैयाँ निकासा गर्न मेयर साम्पाङ्ले निर्देशन दिएका थिए। तर, उपमेयर बेघाले सो रकम नियमविपरीत भएको भन्दै कर्मचारीलाई निकासा रोक्न निर्देशन दिएपछि विवाद चर्किएको हो।

यही विवादपछि मेयर समर्थक श्रमदानमा सहभागी समूहले उपमेयरको कार्यकक्ष घेराउ मात्र गरेन, हातपातको प्रयास पनि भयो। स्थिति थप जटिल बन्दै गएपछि माओवादी समर्थित उपमेयर बेघाको पक्षबाट पनि मेयर साम्पाङविरुद्ध प्रदर्शन गरियो।

मंगलबार बिहान झनै तनावपूर्ण अवस्था उत्पन्न भयो जब मेयर साम्पाङ्ले टिप्पर र डोजर चलाएका थिए भने उपमेयर बेघाले त्यसको चाबी आफूसँग राखे। त्यसपछि वडाध्यक्ष विवेक राईको पहलमा मेयर र उपमेयरलाई एकै ठाउँमा राखेर समाधानको प्रयास भइरहँदा झडपको स्थिति भयो।

उक्त विवादलाई शान्त पार्न नगर प्रहरी र नेपाल प्रहरीलाई हस्तक्षेप गर्नुपर्‍यो। त्यसपछि दुबै पक्षका समर्थकहरूले नगरपालिकाको बाहिर विरोध प्रदर्शन गर्दै नाराबाजी गरेका थिए।

विरोध प्रदर्शन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म निरन्तर चलिरह्यो। धरान–१० का वडाध्यक्ष विवेक राईले भने, “बजेट निर्माणको महत्वपूर्ण समयमा यस्तो अवस्था सिर्जना हुनु दुःखद हो। अब सबै मिलेर अघि बढ्नुपर्छ भन्ने प्रयास भइरहेको छ।”

हालसम्म मेयर, उपमेयर र २० वटै वडाध्यक्ष सहभागी बैठक चलिरहेको भए पनि कुनै स्पष्ट निष्कर्ष निस्किएको छैन।

Leave a comment