
काठमाडौं जिल्ला अदालतले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनामा संलग्न भएको आरोप लागेका मिश्रलाई सोमबार धरौटीमा रिहा गर्न आदेश दिएको हो। मिश्रले धरौटी बुझाउने प्रक्रिया सुरु गरिसकेका छन् र आजै रिहा हुने तयारीमा रहेका छन्।
यसअघि, घटनाका अर्का आरोपी राप्रपाका महामन्त्री धवल शम्शेर राणा पनि ३ लाख धरौटी बुझाएर छुटेका थिए।
यता, सोही घटनामा संलग्न भनिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भने अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
तीनकुने घटनामा संलग्नता आरोपित तीनजना मध्ये दुई जनालाई धरौटीमा रिहा गरिएको भए पनि प्रसाईंमाथि गम्भीर आरोप लागेकाले अदालतले थुनामा राख्ने निर्णय गरेको हो।