Join our Channel

तीनकुने घटनाः दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक बहस अन्तिम चरणमा

तीनकुने घटनाः दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक बहस अन्तिम चरणमा

तीनकुने घटनासँग सम्बन्धित थुनछेक बहस अन्तिम चरणमा पुगेको छ। यस घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीमाथिको थुनछेक बहस हाल काठमाडौं जिल्ला अदालतमा न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा चलिरहेको छ।

चैत्र १५ गते राजधानीको तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले ५० जनालाई राज्यविरुद्धको कसूरमा पक्राउ गरेको थियो। तीमध्ये ३९ जना हाल प्रहरी हिरासतमा छन् भने ११ जना धरौटीमा छुटिसकेका छन्।

प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएको छ र आज सरकारी वकिल कार्यालयका प्रतिनिधिहरूले जवाफ दिइरहेका छन्। सरकारी वकिलले प्रतिवादी पक्षबाट उठाइएका प्रश्न र दावीहरूमा कानुनी जवाफ दिने प्रक्रिया चलिरहेको छ।

थुनछेक बहस सकिएपछि अदालतले दुर्गा प्रसाईंसहितका प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने भन्ने निर्णय गर्नेछ।

प्रहरी अनुसन्धान अनुसार, राजावादी प्रदर्शनका प्रमुख योजनाकार दुर्गा प्रसाईं थिए। उनी चैत्र १५ को हिंसात्मक आन्दोलनपछि फरार भएका थिए तर पछि झापाको भद्रपुरबाट आफ्ना अंगरक्षक दीपक खड्कासहित पक्राउ परेका थिए।

प्रदर्शनका क्रममा प्रसाईले प्रहरीमाथि गाडी कुदाएका थिए भने उनका समर्थकहरूले सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी, ढुंगामुढा र लुटपाट गरेका थिए। यस हिंसात्मक घटनामा एक पत्रकारसहित दुईजनाको ज्यान गएको थियो।

जिल्ला प्रहरी परिसर, काठमाडौंले जेठ ९ गते घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो। त्यसपछि मुद्दा अदालतमा दर्ता गरिएको हो।

Leave a comment