
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङको घरपझोङ गाउँपालिका–४ भ्रप्सोस्थित पेरिस डाँडामा पार्टीको नयाँ कार्यालय भवनको शिलान्यास गरेका छन्।
बौद्ध परम्परा अनुसार विधिपूर्वक शिलान्यास गरिएको सो भवन पार्टी संगठन विस्तार तथा स्थानीय स्तरको विकासमा टेवा पुग्ने अध्यक्ष दाहालले विश्वास व्यक्त गरे।
पार्टीका जिल्ला समन्वय समिति इञ्चार्ज धीरेन्द्र विकका अनुसार यो भवन छ कोठाको हुनेछ। निर्माणका लागि आवश्यक जग्गा वारागुङ मुक्तिक्षेत्र–२ छ्ङ्गुर निवासी ढच्युङ गुरुङले निःशुल्क प्रदान गरेका हुन्।
अध्यक्ष दाहालले शिलान्यास कार्यक्रममा बोल्दै पार्टीको नयाँ कार्यालय निर्माणपछि संगठन सुदृढीकरण मात्र नभई, स्थानीय जनताको अपेक्षा अनुसारको विकास गर्न समेत सहयोग पुग्ने बताए। साथै, उनले स्थानीय नेता तथा कार्यकर्तालाई जनतामै केन्द्रित भएर कार्य गर्न निर्देशन दिए।