Join our Channel

बाढीले बगायो दुम्कीबास डाइभर्सन, पूर्व–पश्चिम राजमार्ग पूर्ण अवरुद्ध

नवलपरासी पूर्व (बर्दघाट–सुस्ता पूर्व) अन्तर्गत दुम्कीबास क्षेत्रमा रहेको डाइभर्सन शुक्रबार बिहान आएको बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

डाइभर्सन बगाएको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालले अहिलेका लागि सवारी आवागमन पुनः सञ्चालन गर्न नसकिने जानकारी दिए। “बाढीको प्रवाह रोकिएको छैन, तत्काल यातायात सञ्चालन सम्भव छैन,” डीएसपी नेपालले भने।

डाइभर्सन अवरुद्ध भएपछि साना तथा यात्रुवाहक सवारी साधनलाई वैकल्पिक मार्ग हुँदै होङ्सी गेट–सर्दी हुँदै सञ्चालन गरिएको छ।

यता, बुटवल–नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार डाइभर्सन भएको ठाउँमा नयाँ पुलको ढलान सम्पन्न भइसकेको छ। उनले पुल आगामी असार दोस्रो साताबाट सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिए।

यो सडकखण्ड पूर्व–पश्चिमलाई जोड्ने महत्वपूर्ण यातायात मार्ग हो, जसमा दैनिक हजारौं सवारी साधनको आवागमन हुने गर्छ।

Leave a comment