
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पताल तथा मातहतका निकायमा सरुवा भई पनि तोकिएको समयमा हाजिर नभएका करिब ४ सय स्वास्थ्यकर्मीलाई कडा कारबाहीको चेतावनी दिएको छ।
स्वास्थ्य मन्त्रीको निर्णयअनुसार मन्त्रालयको प्रशासन विभागले सम्बन्धित कर्मचारीलाई चेतावनी पत्र पठाइसकेको जानकारी दिएको छ। विभाग प्रमुख कृषी आचार्यका अनुसार बुधबार मात्रै अधिकांश गैरहाजिर कर्मचारीलाई पत्र पठाइएको हो।
प्रशासन विभागका अधिकृत विनोद ढकालका अनुसार, तीन दिनभित्र सरुवा भएको अस्पतालमा हाजिर नगरेमा ती कर्मचारीलाई मन्त्रालय फिर्ता बोलाउने, सेवासुविधावापतको खर्च असुल गर्ने लगायतका विषय स्पष्ट रूपमा पत्रमा उल्लेख गरिएको छ।
ढकालका अनुसार, धेरै कर्मचारीहरू सरुवा भएका अस्पतालमा हाजिर नगरी राजधानीका विभिन्न अस्पतालमा अध्ययन बिदा वा काजबिदा लिएर बस्ने प्रवृत्तिका कारण दुर्गम तथा उपत्यकाबाहिरका अस्पतालहरूमा सेवा प्रवाहमा गम्भीर असर परिरहेको छ। “शुक्रराज अस्पतालबाट आज मात्रै रेडियोलोजिस्ट नभएको गुनासो आएको छ,” ढकालले भने।
काठमाडौंको कान्ति बाल अस्पताल र शुक्रराज ट्रपिकल अस्पतालमा कार्यरत केही कर्मचारी नजिककै संघीय अस्पतालमा काजमा जानु पनि समस्या भएको मन्त्रालयको भनाइ छ। अधिकांश स्वास्थ्यकर्मी वीर अस्पताल लगायतका ठूला अस्पतालहरूमा थुप्रिँदा दुर्गम क्षेत्रहरूमा आवश्यक स्वास्थ्य सेवा प्रभावित भएको मन्त्रालयको गुनासो छ।
“सकेसम्म दुर्गममा जान नमान्ने र सरुवा भए पनि लामो बिदामा बसेर राजधानीमै थुप्रिने प्रवृत्तिले जनशक्ति व्यवस्थापनमा समस्या परेको छ,” ढकालले भने।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चेतावनी पत्र पाएर पनि तोकिएको स्थानमा हाजिर नभएका कर्मचारीलाई नियमअनुसार कारबाही हुने स्पष्ट पारे।