
आठ राजनीतिक दलले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिन माग गर्दै तत्काल संसद बैठक बोलाउन सरकार र राष्ट्रपति कार्यालयलाई आग्रह गरेका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी ले संयुक्त विज्ञप्ति जारी गर्दै विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन्।
संविधानविपरीतको कदम भन्दै आपत्ति
भदौ २७ गते राति राष्ट्रपति कार्यालयले प्रतिनिधिसभा विघटन भएको भन्दै विज्ञप्ति जारी गरेको थियो। सो निर्णय संविधानको धारा ७६ को उपधारा (७), सर्वोच्च अदालतका नजीर तथा संवैधानिक परम्परा विपरीत भएको दलहरूको ठहर छ।
विज्ञप्तिमा भनिएको छ, “जननिर्वाचित संस्था प्रतिनिधि सभालाई विघटन गरिएको कार्य नेपाली जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार गर्ने कार्य हो।”
तत्काल संसद बैठकको माग
दलहरूले आन्दोलनरत समूह र जनताको माग प्रतिनिधिसभाबाटै सम्बोधन गर्नुपर्ने बताउँदै तत्काल संसद बैठक बोलाउन जोडदार माग गरेका छन्।
उनीहरूले संविधान र लोकतन्त्रलाई कमजोर पार्ने कुनै पनि कदम स्वीकार्य नहुने चेतावनीसमेत दिएका छन्।
